रौतहट, बैशाख ५

रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएका छ ।

जिल्लाको मध्यभाग देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल आपसमा ठोकिँदा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल उक्त स्थानमा ठोकिँएको थियो ।

दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताएका थिए । मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकासलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिएका छन ।

अर्को मोटरसाइकल चालक फरार भएको प्रहरीले जानकारी दिएका छन । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएका छन ।