
जनकपुर, बैशाख ५
बैशाख ५ गते हुने स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरण गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।
सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकत वितरण गरिने र बैशाख ७–८ गते वडाहरुको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ ।
वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालय, जनकपुरधाम, प्रदेश नम्बर १ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट टिकट वितरण गरिने जनाएको हो ।
जनमत पार्टीबाट उम्मेदवार बनेकाहरुले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तै निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत सचिवालयले जनाएको छ ।
यस अघि जनमत पार्टी स्थानीय तहको उपचुनावमा भाग लिएको थियो ।
उम्मेदबारहरू नागरिकता र मतदाता परिचय–पत्रको प्रतिलिपी (फोटोकपी) लिएर उपस्थित हुनका लागि जनमत पार्टीको कार्यालयमा उपस्थिति हुन भनिएको छ ।