सूचना प्रकाशन वापत ११ लाख बढी झ्वाम्म
जनकपुर, वैशाख ५
जनकपुरधाम उपमहानगरपालिका सहित देशैभरीका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा समेत जनकपुरधाम उपमहानगरपालिकाबाट एक आर्थिक वर्षको पनि योजना किताब प्रकाशन गर्न सकेको छैन । यति मात्र नभई उपमहानगरबाट प्रकाशन हुने राजपत्रहरु प्रकाशन गरिएका छन् ।
डेली एक्सप्रेस पत्रिकाले सूचनाको हक प्रयोग गरी मागेको सूचनाका आधारमा उपमहानगरले उपलब्ध गराएको जानकारीमा स्पष्ट लेखिएको छ न योजना किताब छापिएको छ न राजपत्र नै प्रकाशन गरिएको छ । जबकि उपमहानगरले बार्षिक योजना किताब प्रत्येक वर्ष छपाउनु पर्ने हुन्छ । यसका साथै राजपत्रहरु समेत प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ ।
उपमहानगरले उपलब्ध गराएको सूचनामा वार्षिक योजना किताब र राजपत्रहरु जनकपुरधाम उपमहानगरपालिकाको आधिकारिक वेभसाइटमा राखिएको छ ।
जबकि महालेखाको परिक्षणमा उपमहानगरले वार्षिक योजना किताब र राजपत्रहरु छपाई वापत लाखौ खर्च गरिएको पाइएको थियो । प्रतिवेदनमा सो रकमलाई बेरुजु समेत देखाइएको थियो ।
सूचना प्रकाशनमै ११लाख बढी खर्च
जनकपुरधाम उपमहानगरले चालु आर्थिक वर्षको चैत महिनासम्ममा ११ लाख बढीको खर्च गरेको छ । उपमहानगरले ती सूचनाहरु नगरप्रमुख लालकिशोर साह नजिकका व्यक्तिहरुलाई मात्रै उपलब्ध गराइएको पाइएको छ । जसमा सबैभन्दा ठूलो रकम बलभद्र मिडिया प्रा.लिंलाई मात्रै ६ लाखभन्दा बढी रुपैयाँ बराबरको चालु आर्थिक वर्षमा सूचना उपलब्ध गराइएको छ । यसका साथै बजारमा नआउने केही पत्रिकाहरुलाई समेत सूचना उपलब्ध गराइएको पाइएको छ ।
बलभद्र मिडिया प्रा.लि.लाई चालु आर्थिक वर्षमा ५ पटक गरी सूचना प्रकाशनवापत ६ लाख १ हजार ८ सय ५० रुपैयाँ भुक्तानी गरिएको छ । बलभद्र मिडिया प्रा.लि.लाई १४ हजार, ९५ हजार रुपैयाँ, १ लाख ४६ हजार ७ सय रुपैयाँ, ८० हजार र १ लाख ७१ हजार १ सय ५० रुपैयाँको भुक्तानी गरिएको हो ।
बजारमा प्रकाशन हुन बन्द भएको रेजा टुडे पत्रिकालाई २२ हजार ६ सय रुपैयाँको दरले दुई पटकको सूचना प्रकाशन गरेवापत ४५ हजार २ सयको भुक्तानी गरिएको हो ।
आरके मिडिया नेटवर्क प्रा.लि.लाई ५हजार, क्रिएटिभ मिडिया सेन्टरलाई ७८ हजार ५४, गोरखापत्र संस्थानलाई ४२ हजार ९ सय ६९ रुपैयाँ, जनकपुरखबर मिडिया ग्रुपलाई १४ हजार रुपैयाँ, डा. कृष्णचन्द्र मिश्र पब्लिकेशन प्रा.लि.लाई १९ हजार ५ सय रुपैयाँ, नेपाली सरोकारलाई २५ हजार रुपैयाँ, महादेव मिडिया सर्भिस प्रा.लि.लाई २ हजार ५ सय रुपैयाँ, मिथिलाञ्चल एफएम प्रा.लि.लाई ६७ हजार ८ सय रुपैयाँ, मुलुक टाइम्सलाई २५ हजार रुपैयाँ, सदिक्षा एण्ड समिक्षा मिडिया प्रा.लि.लाई ७२ हजार ३ सय २० रुपैयाँ, समाचार दैनिक पत्रिकालाई ५९ हजार ५ सय रुपैयाँ र सिमला देवी मिडिया प्रा.लिं.लाई ३९ हजार ५ सय ५० रुपैयाँको भुक्तानी गरिएको छ ।
त्यस्तै जनकपुरधाम उपमहानगरपलिकाले चालु आर्थिक वर्षमा मसलंद तथा कार्यालय सामाग्री खरिदमा ७ लाख ८० हजार ७ सय ७३ रुपैयाँ र छपाईमा ७ लाख ३० हजार ३ सय ८ रुपैयाँ खर्च गरेको छ ।