जनकपुर, बैशाख ६
केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठक तीन देखि जारी छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा जितेको पालिकामा दावी गरेपछि बैठक लम्बिएको हो ।
गठबन्धन दलहरुका पालिका कमिटी तथा जिल्ला पार्टी कमिटीले नेकपा एमाले र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल जितेका पालिकामा निर्वाचित क्षेत्रमा दावी गरेपछि बैठक लम्बिएको एक नेताले जानकारी दिए ।
सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारिक सहमती भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश सचिव योगकुमार बरबरिया जीवनले बताए ।
उनले तत्कालिन राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलवीच छलफल हुने छ भने त्यसका लागि कसरी जाने भनि मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य आजको बैठकबाट टुंगिने बताए ।
आइतबार देखि निरन्तर जारी रहेको गठबन्धनको बैठकमा सोमबार पाँच वटै दलका जिल्ला अध्यक्षहरुसँग जिल्लागत र पालिकाको वस्तुअवस्था तथा विपक्षी दलको वस्तुअवस्था बुझ्ने काम भएको छ भने आजपनि बाँकी केही जिल्लाका अध्यक्षहरुसँग छलफल हुने उनले बताए ।
जिल्ला अध्यक्षहरुसँग बैठक सकिएपछि आज दिउसोसम्म मधेश प्रदेशस्तरीय गठबन्धनको बैठकबाट मोडालिटीसहितको निष्कर्षमा पुग्ने उनले बताए ।
एमालेले जितेको पालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्दै आएको छ । तर सो पालिकाहरुमा भने काँग्रेस र जसपाले पनि दावी गरेपछि टुंगोमा पुग्न सकेको छैन ।
यस बैठकमा काँग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पुर्वाधार बिकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, माओवादीका मधेश सचिव योगकुमार बरबरिया, जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितीका इन्चार्ज धर्मनाथ साह र गठबन्धन घटक दलका प्रदेश तथा जिल्ला अध्यक्षहरु एवं नेताहरुकोसमेत बाक्लो उपस्थिती छ ।