जनकपुर, बैशाख ६

केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा जितेको पालिकामा दावी गरेपछि बैठक लम्बिएको छ ।

दलहरुका पालिका कमिटी तथा जिल्ला पार्टी कमिटीले पालिकामा निर्वाचित क्षेत्रमा दावी गरेपछि बैठक लम्बिएको एक नेताले जानकारी दिए ।

सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारि सहमती भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश सचिव योगकुमार बरबरिया जीवनले बताए ।

उनले तत्कालिन राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलवीच छलफल हुने छ भने त्यसका लागि कसरी जाने भनि मापदण्ड निर्धारण गर्ने आन्तरिक गृहकार्य आजको बैठकमा हुने बताए ।

उनले भने, ‘३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्नुपर्ने हुन्छ ।’

सोमबार बेलुका देखि गठबन्धन दलका जिल्लाका अध्यक्षहरुसँग छलफल भने आज पनि जारी नै रहेको जनाइएको छ ।

आइतबार देखि निरन्तररुपमा जारी रहेको गठबन्धनको बैठकमा सोमबार पाँच वटै दलका जिल्ला अध्यक्षहरुसँग जिल्लागत र पालिकाको वस्तुअवस्था तथा विपक्षी दलको वस्तुअवस्था बुझ्ने काम भएको छ भने आजपनि केही जिल्लाका अध्यक्षहरुसँग छलफल हुने उनले बताए ।

जिल्ला अध्यक्षहरुसँग बैठक सकिएपछि आज दिउसोसम्म मधेश प्रदेशको गठबन्धनको बैठकबाट मोडालिटीसहितको निष्कर्ष सम्भावना छ ।

गठबन्धन आवद्ध घटक दलका अध्यक्ष र नेताहरुको उपस्थितिमा तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्लाअध्यक्षहरु पालिकास्तरीय रिपोर्टिंगसहित समिक्षा गर्ने गरि दुई वा तीन चरण गरि जिल्लाअध्यक्षहरुसँग बैठक बस्न लागेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले बताए ।

उनले भने, ‘जिल्लगतरुपमा पालिकाको रिपोर्टिंगपछि सोमबार बसेको बैठकबाट पालिकाको सिट बाँडफाँटका लागि मोडालिटी तयार पार्नका लागि छलफल भएपनि सो भन्दा पहिला पाँच वटै पार्टीका ८ वटै जिल्लाका अध्यक्षहरुसँग कुराकानी गरेर आज निष्कर्षका लागि सकारात्मक छलफल भईरहेको छ ।’

एमालेले जितेको पालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्दै आएको छ । तर सो पालिकाहरुमा भने काँग्रेस र जसपाले पनि दावी गरेपछि टुंगोमा पुग्न समय लागेको जनाइएको छ ।

यस बैठकमा काँग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पुर्वाधार बिकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितीका इन्चार्ज धर्मनाथ साह र गठबन्धन घटक दलका प्रदेश तथा जिल्ला अध्यक्षहरु एवं नेताहरुकोसमेत सहभागिता रहेको छ ।