जनकपुर, बैशाख ६

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान स्थल रहेको छ भने सबै भन्दा न्यून ‘सामान्य’ मतदान स्थल मधेस प्रदेशमा रहेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको हो । सो वर्गीकरण अनुसार सात वटै प्रदेश मध्ये मधेस प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान स्थल छन् ।

विगतको निर्वाचनमा भएको मतदान स्थलमा निर्वाचन विथोलिएको र सो स्थलमा झडपसमेत भएको स्थललाई अति संवेदनशीलको रुपमा सुरक्षानिकायले लिएको छ ।

मधेस प्रदेशमा १ हजार ६३ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । यस प्रदेशमा संवेदनशील मतदान स्थल ८ सय ८८ र सामान्य मतदान केन्द्र २ सय १२ वटा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका प्रहरी नायब महानायब निरीक्षक उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा थ्रेट भन्दा पनि सुरक्षा चुनौती रहेको बताएका छन् ।

विगतसँग तुलना गर्दै प्रहरी नायब महानायब निरीक्षक रञ्जितकारले अहिले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, सानासाना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहेतापनि अहिले राजनीतिकको मुलप्रवाहमा आईसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको बताए ।

उनले खुलासिमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले भने यसका लागि खुलासिमानाका निर्वाचनको ७२ घण्टा अघि देखि नै पूर्णरुपेण आवतजावत ठप्प हुने बताए । उनले ८ वटा जिल्लामा राजनीतिक गतिविधिहरु पनि समान्यरुपमै भईरहेकाले सतर्कतापूर्वकरुपमा प्रहरीले काम थालिसकेको बताए ।

विप्लव नेतृत्वको नेकपा, सीके राउत नेतृत्वको जनमत पार्टीको उच्छृंखल गतिविधि र खुला सिमानाबाट हतियार ओसार पसार हुँदा आउने सुरक्षा चुनौतीका कारण मधेसका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

संवेदनशिल र सामान्य मतदान स्थल

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदान स्थल अति संवेदनशिल मानिएको छ ।

त्यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशिल मानिएको छ । भने सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य मानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।