जनकपुर, बैशाख ६
मधेस प्रदेशमा स्थानीय निर्वाचनलाई लिएर सत्तारुढ गठबन्धनको बैठकबाट सहमती हुन सकेको छैन । गठबन्धन घटक दलका जिल्ला अध्यक्षहरुसँग आज भएको बैठकमा केही पालिकामा दलका अध्यक्षहरु वीच सहमती हुन नसक्दा बैठक निर्णय विना नै टुंगिएको हो । अब प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने भएको छ ।
गठबन्धन आवद्ध घटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र राजपा जितेको पालिकामा दावी गरेपछि बैठक लम्बिएको थियो ।
गठबन्धन दलमा आवद्ध पालिका कमिटी तथा जिल्ला पार्टी कमिटीले पालिकामा निर्वाचित क्षेत्रमा दावी गरेपछि बैठक लम्बिएको जनाइएको छ ।
सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सम्बन्धित दलले नै आफ्नो उम्मेदवारी दिने अनौपचारि सहमती भएको थियो ।
तत्कालिन राजपा नेपाल र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलवीच बाँडफाँड लिने छलफल भएको थियो । तर गठबन्धनमा आवद्ध काँग्रेस र जसपालगायतका जिल्ला अध्यक्षले दावी गरेपछि गठबन्धनको प्रदेशस्तरीय भने आज बस्न सकेको छैन ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष गणेश साहले प्रदेश गठबन्धनको बैठक बुधबार बस्ने बताए ।
उनले भने, ‘३४ पालिकामा कुरा नमिलेमा गठबन्धन दल बाहेककाहरुसँग तालमेल निर्वाचन लड्न नपाउने हुनाले गठबन्धनका घटक दलसँगै वा एक्लै निर्वाचन लड्ने अनौपचारिक सहमती भएको छ ।’
आइतबार देखि नै निरन्तरता पाएको गठबन्धनको बैठकमा पाँच वटै दलका जिल्ला अध्यक्षहरुसँग जिल्लागत र पालिकाको वस्तुअवस्था तथा विपक्षी दलको वस्तुअवस्था र केही पालिकामा दावी गरेपछि गठबन्धनको बैठक हुन सकेन ।