जनकपुर, वैशाख ७
चुनावको मिति नजिकिएपछि स्थानीय तहको पूँजीगत बजेट खर्च ह्वात्तै बढेको छ ।
सामान्यतया चैतसम्ममा ३० प्रतिशतको हाराहारीमा विकास खर्च हुने गरेकोमा यसवर्ष ५० प्रतिशतभन्दा माथि खर्च भइसकेको पाइएको छ ।
अझै वैशाख महिनाको अनुमानित खर्च जोड्दा दुई तिहाइभन्दा बढी बजेट चुनावअघि नै खर्च भैसक्ने देखिन्छ । स्थानीय तहको चुनाव यही वैशाख ३० गतेका लागि तोकिएको छ ।
अघिल्ला वर्षहरूमा झण्डै ५० प्रतिशतको हाराहारीमा खर्च असार महिनामा मात्र हुने गरेको थियो । तर यसपटक चुनाव र जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै गरेकाले अधिकांशको ध्यान विकास निर्माण गरेको देखाउन र बजेट सक्नमा रहेको देखिन्छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा कुल बजेटको ३८.१५ प्रतिशत रकम खर्च गरिसकेको छ । जसमध्ये पूँजीगततर्फ १८.८ % खर्च गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को चैतसम्ममा कुल बजेटको २९.२४ % खर्च गरिएको थियो । जसमध्ये पूँजीगततर्फ ८.३६ % मात्र खर्च गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्ष पूँजीगत खर्च १० प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब ५९ करोड ८४ लाख ४० हजार रुपैयाँ कुल बजेट रहेको उक्त उपमहानगरमा चैतसम्म ६० करोड ९८ लाख २७ हजार ७४५ रुपैयाँ खर्च भइसकेको छ । ९८ करोड ८६ लाख १२ हजार २५४ रुपैयाँ मात्र खर्च गर्न बाँकी छ ।
पूँजीगततर्फको कुल बजेट ५८ करोड ८४ लाख ७५ हजार रुपैयाँ मध्ये ११ करोड ६ लाख ४५ हजार ३२९ रुपैयाँ (१८.८ %) खर्च भएर ४७ करोड ७८ लाख २९ हजार ६७० रुपैयाँ मात्र बाँकी छ ।
तर गत आर्थिक वर्ष २०७७÷०७८ मा भने चैतसम्म कुल बजेटको २९.२४ प्रतिशत रकम मात्र खर्च गरिएको थियो । गत आर्थिक वर्षको चैतसम्ममा कुल १ अर्ब ७१ करोड ८३ लाख १० हजार २५९ रुपैयाँ बजेट रहेकोमा ५० करोड २४ लाख ४६ हजार ९५० रुपैयाँ (२९.२४%) मात्र खर्च भएको थियो । १ अर्ब २१ करोड ५८ लाख ६३ हजार ३०९ रुपैयाँ खर्च गर्न बाँकी थियो ।
पूँजीगततर्फ हेर्ने हो भने गत वर्षको चैतसम्ममा ८.३६ % मात्र खर्च भएको थियो । ६० करोड ३७ लाख ९३ हजार ७०२ रुपैयाँ कुल पूँजीगत बजेट रहेकोमा चैतसम्ममा ५ करोड ५ लाख ५७ हजार ५२० रुपैयाँ मात्र खर्च भएको थियो । ५५ करोड ३२ लाख ३६ हजार १८२ रुपैयाँ बाँकी नै थियो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि गत वर्षको तुलनामा यसवर्ष चैतसम्ममा धेरै खर्च गरिएको छ । उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लखन देव यादवले दिएको जनकारी अनुसार गत आर्थिक वर्षको चैतसम्म कुल बजेटको ३०.२७ % रकम मात्र खर्च भएको थियो भने चालू आर्थिक वर्षको चैतसम्म ५२.४२ % रकम खर्च भइसकेको छ ।
गत आर्थिक वर्षको कुल बजेट ६१ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालूतर्फ १२ करोड ८८ लाख र पूँजीगततर्फ ५ करोड ८४ लाख रुपैयाँ खर्च भएको थियो । त्यसैगरी चालू आर्थिक वर्षको कुल बजेट ६९ करोड २३ लाख ४४ हजार रुपैयाँ रहेकोमा चालूतर्फ १८ करोड ६ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ १८ करोड २३ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । गत वर्ष चैतसम्ममा पूँजीगततर्फ ५ करोड ८४ लाख रुपैयाँ मात्र खर्च भएकोमा चालू आर्थिक वर्षको चैतसम्ममा पूँजीगततर्फ १८ करोड २३ लाख ७ हजार रुपैयाँ खर्च भइसकेको छ ।
महोत्तरीको सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा पनि गत वर्षको तुलनामा यसवर्ष चैतसम्ममा खर्च बढेको छ । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविणकुमार झाका अनुसार कुल बजेट ९३ करोड २४ लाख ३४ हजार रहेकोमा चैतसम्म ४० करोड ६६ लाख ६ हजार रुपैयाँ खर्च भइसकेको छ । खर्च प्रतिशत ४३.६० प्रतिशत छ ।
गत आर्थिक वर्षमा वर्षभरि कुल बजेटको ८४.६८ प्रतिशत रकम मात्र खर्च भएको थियो । गत आर्थिक वर्षमा कुल ८९ करोड ८७ लाख ७५ हजार रुपैयाँ बजेट रहेकोमा ७६ करोड ११ लाख २३ हजार ५४६ रुपैयाँ (८४.६८ %) खर्च भएको थियो । गत आर्थिक वर्षको चैतसम्मको मात्र खर्च निकाल्न नसकिने उनले बताए ।
गत आर्थिक वर्षमा चैतसम्ममा करीब २५ प्रतिशतको हाराहारीमा खर्च भएकोमा चालू आर्थिक वर्षको चैतसम्ममा ४३.६०% प्रतिशत खर्च भएको उनले बताए ।