जनकपुर, बैशाख ७

मधेस प्रदेशमा स्थानीय निर्वाचनलाई लिएर सत्तारुढ गठबन्धनको बैठकबाट सहमती हुन सकेन । पाँच दल वीच सहमती हुन नसक्दा काँग्रेस इतरका दलहरु जसपा, माओवादी र एकीकृत समाजवादी वीच सहमतीका लागि छलफल समेत भएको छ ।

आइतबारदेखि निरन्तररुपमा जारी रहेको पाँच दलीय गठबन्धन वीच सहमती नभएपछि घुमाउरो पारामा गठबन्धनको बैठकबाट एकजुट भएर सर्वसम्मतरुपमा जाने सम्भावना नदेखिएपछि चार बुँदे सहमती पत्र सार्वजनिक गरेको समेत छ ।

सत्ता गठबन्धन दलहरु बिच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन बाहिरका दल प्रतिस्पर्धा रहेको ठाउँमा सत्ता गठबन्धन दल अधिक्तम लचिलो भई चुनावी तालमेल गर्ने, गठवन्धन दलहरु भित्रका सबै दल एक जुट हुन नसकेमा गठबन्धन दल भित्रकै दलहरु विच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने र सत्ता गठवन्धन दल बाहिरको दल सँग कुनै चुनावी तालमेल वा गठबन्धन गर्न नपाईने सहमती पाँच दल वीच भएको छ ।

तत्कालिन राजपा नेपाल र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलवीच बाँडफाँडको विषयमा रौतहटको केही पालिका बाहेक अन्यपालिकाका लागि संवाद जारी राख्ने गरि गठबन्धनको बैठक टुंगिएको हो ।

रौतहटको मौलापुर नगरपालिकालगायतमा सहमती नजिक पुगेपनि अन्यपालिकाको विषयमा दलहरु ऋा–आफ्नै अडानमा रहेपनि संवादलाई निरन्तरता दिने गरि बैठक सम्पन्न भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले जानकारी दिए ।

उनले ३४ पालिकासहित अन्य पालिकामा पनि काँग्रेसलगायतका दलले छोड्न नचाहेपछि वार्ता संवादलाई अघि बढाउने गरि पाँच दल भित्रै रहेर तालमेल वा गठबन्धन गर्दै मित्रवत प्रतिस्पर्धा गर्ने गरि गृहकार्य हुने बताए ।

नेपाली काँग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले पाँच वटै दलका शिर्षनेताहरु एकअर्कासँग निरन्तर समन्वय र सहकार्यका लागि संवाद जारी रहने बताए ।

यता काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी दलवीचको बैठक सकिए लगत्तै जनता समाजवादी पार्टी नेपालको कार्यालयमा माओवादी र एकीकृत समाजवादीको बैठक समेत भएको छ । सो बैठक सकारात्मक निष्कर्षमा पुग्नका लागि छलफललाई निरन्तरता दिने जनाइएको छ ।

काँग्रेसले विभिन्न पालिकामा मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षमा अडान नछाडेपछि यी दलहरु वीच सहमतीका लागि गृहकार्य समेत थालिएको छ ।

पाँच दलहरु भित्रकै दलमा तालमेल वा गठबन्धन गरेर अघि बढ्न सक्ने गरि मित्रवत प्रतिस्पर्धाको निर्णय भएकाले यही दलभित्रपनि एक भएर जानसक्ने विकल्प रहेकाले बैठक बसेको माओवादी प्रदेश ईन्चार्ज साहले बताए ।
गठबन्धन आवद्ध घटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचन अनुसार निर्वाचित दलहरुले सो भन्दा बढी पालिका दावी गर्दै आएका छन् ।