जनकपुर, बैशाख ८
बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि एकल उम्मेदवारको रुपमा शिवशंकर साह हिराको नाम सिफारिस गरेको छ ।
तर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधामको मेयरका लागि सिफारिस गरेका जानकीराम साह मेयर पदकै लागि एमालेमा प्रवेश गरेपछि सो पार्टीभित्र अलमल देखिएको छ ।
केही दिनअघि काठमाडौँस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर जानकीराम साह टिकाटालोसहित एमालेमा प्रवेशमा गरेका थिए ।
यसअघि नै मेयरका लागि सिफारिस भएका शिवशंकर साह हिरोले चुनावी अभियान अन्तर्गत घरदैलो अभियानलाई तिव्रता दिएका छन् । नवप्रवेशी जानकीराम साहले पनि चुनावी अभियानमा लागि परेका छन् ।
एमालेबाट दुईजना उम्मेदवार भएपछि कार्यकर्ताहरु पनि अलमलमा परेका छन् । नेता हिराले पार्टीमा उम्मेदवार छनोट गर्ने विधि–विधान, पद्धति रहेको र त्यसभन्दा बाहिर जाने कसैलाई अनुमति नरहेकाले अहिले चुनावी अभियान चलाइरहेको बताए ।
नेता हिराले विगतमा एमालेलाई मधेस विरोधीको रुपमा षडयन्त्रपूर्वक प्रचार गरिएको भन्दै यस चार वर्षको अवधिमा पार्टीले काम गरेर आफूहरु मधेस विरोधी नरहेको पुष्टि गरिसकेको बताए । जानकी राम एमालेमा प्रवेश गरेपछि एमालेभित्र टिकटका लागि हानथाप हुने नेताहरुको अनुमान छ ।