
काठमाण्डौं, बैशाख ८
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट भएर ज्यान गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएका छन् । साथै उनले सरकाले प्राविधिकसहितको टोलीले घटनाको छानबिन गर्ने बताए ।
बिहीबार बिहान सगरमाथा अक्सिजन प्लान्ट क्षेत्रमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । घटनालगत्तै मन्त्री बडु घटनास्थल पुगेर स्थलगत अवलोकन गरेका थिए । त्यसक्रममा उनले घटना दुर्भाग्य र दुःखद भएको भन्दै यस्ता घटना विरलै हुने गरेको बताए ।
‘घटना हुनुमा प्राविधिक कारण भनिएको छ । सामान्यतया यस्तो उदाहरण छैन घटनाको छानबिन प्राविधिक पक्ष राखेर गर्छौँ,’ स्थलगत अनुगमनपछि मन्त्री बडुको भनाइ छ । उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्ने बताए ।