जनकपुर, बैशाख ८
महोत्तरीको एक स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै जनप्रतिनिधिले एक नीजि बैँकमा ताला लगाएका छन् ।
महोत्तरीको भंगहा नगरपालिका मेयर संजिव कुमार साहले विगत पाँच महिना देखि नै भुक्तानी गरिएको सामाजिक सुरक्षा भत्ता वापतको रकम सेवाग्राहीलाई नदिँदा कुमारी बैंकमा तालबन्दी गरेको जनाएका छन् ।
भंगहा नगरपालिकाको कार्यालयबाट बैंकको खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता पाँच महिनासम्म पनि वितरण नगर्दा भंगहा नरमा आफु विरुद्ध नै विभिन्न किसिमको अफवाह फैलिएपछि बाध्यतावश बैंकमा तालाबन्दी गरेको मेयर साहको भनाई छ ।
उनले भंगहाको सीतापुर बजार स्थित कुमारी बैंकको शाखामा तालाबन्दी गरेका थिए । बुधबार दिउँसो तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ भने सेवाग्राहीले सास्ती समेत भएको थियो ।
कुमारी बैंक मधेश प्रदेशका प्रमुखसहितको टोलीसँग राति नै सामाजिक सुरक्षा अन्तर्गतको वृद्ध भत्ता र १५ महिनादेखि बैंकले रोकेर राखेको बालबालिकका लागि पोषण भत्ता समेत वितरण गर्ने र बैंकमा थप कर्मचारी राख्ने र डेस्क राख्ने तथा अनलाईनलाई व्यवस्थित गरेर सोमबारसम्ममा सम्पूर्ण भत्ताहरु वितरण गर्ने सहमति भएपछि राति नै बैंकमा लगाइएको ताला खोलिएको मेयर साहले बताए ।
बैंकमा नगरपालिकाको कुल करिब ५ करोड रुपैयाँ सम्म सामाजिक सुरक्षालगायतका विभिन्न भत्ता वर्षदिनदेखि रोकेर राख्दा आफुमाथि विपक्षीले विभिन्न आरोप लगाउने गरेको र बैंकले समेत सो रकम सेवाग्राहीमा प्रवाह नगर्दा सोको ब्याज समेत उनीहरुले पाउने गरेकाले बैंकले सो रकम वितरण गर्न आनाकानी गरेको हुनसक्ने उनले बताए ।
बैंकमा लगाइएको ताला सहमति भएपछि मध्यरातमै खोलेपछि आज विहानदेखि सेवाग्राहीहरु बालबालिकालाई दिइने गरेको पोषण भत्ता र वृद्धवृद्धाले पाउने गरेको सुरक्षा भत्ताका लागि नयाँ खातासमेत खोल्नका लागि सेवाग्राहीहरु पुगेका थिए ।
यता कुमारी बैंक भंगहा शाखाका मैनेजरले भने यसबारेमा केही पनि बोल्न चाहेनन् ।
यता सामाजिक सुरक्षा भत्ताको माग गर्दै मेयर साहको विरुद्धमा स्थानीयवासीहरुले धर्ना समेत दिएका छन् ।