जनकपुर, बैशाख ८

सिटिइभिटीको परीक्षा केन्द्रबाट दुईजना नक्कली परिक्षार्थीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् ।

सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागि भएको भनि प्राप्त सुचनाको आधारमा धनुषा प्रहरीको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्री डिप्लोमा इन सर्भे इन्जिनियरिंग’ को परीक्षामा परिक्षार्थी लक्ष्मीनारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिईरहेकै बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मीनारायण झालाई समेत सोही परीक्षा केन्द्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुबैजना माथि शिक्षा ऐन कारवाही हुने जनाइएको छ । उनीहरुमाथि म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।