जनकपुर, वैशाख ८

सत्तारुढ ५ दलिय गठबन्धनले महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा गरेपछि घटक दलहरु उत्साहित भएपनि गठबन्धन दलभित्रै असन्तुष्टी बढेको छ ।

सत्तारुढ गठबन्धनका घटक दल बीच उपमहानगर र महानगरको भागबण्डा मिलाएपछि गठबन्धनमा आवद्ध दलहरु उत्साहित बनेपनि जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसको भागमा नपरेको भन्दै आक्रोशित बनेका हुन् ।

गठबन्धनका कारण सबैभन्दा बढी असन्तुष्टि पछिल्लो स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा सबैभन्दा बढी कांग्रेस भित्र देखिएको छ ।

नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला अध्यक्ष दिपक यादवले गठबन्धनले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए । उनले गठबन्धनको निर्णयलाई स्वागत गर्दै व्यवहारिकरुपमै कायान्वयन गर्ने बताए ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले गठबन्धनको निर्णय आएपछ यसको आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।

उनले जनकपुरधाम उपमहानगरका लागि मेयर पद भागवण्डा परेपछि उम्मेदवार छनोटका लागि शुक्रबार पार्र्टीको बैठक बसेर टुंगो लगाउने बताए । यससंगै प्रचारप्रसार समिति, बुथ परिचालन समिति, गठबन्धनसंग समन्वय सहकार्यका लागि पालिकास्तरीयसम्म समिति निर्माण र कार्यकर्ता परिचालन तथा व्यवस्थापन समितिलगायत विभिन्न वडा कमिटीसम्म निर्माण तथा विस्तार गर्नका लागि गृहकार्य थालिसकेको बताए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी धनुषाका अध्यक्ष रामचन्द्र पण्डितले केन्द्रिय गठबन्धनको निर्णयलाई मानेर अघि बढ्नुपर्नेको विकल्प नरहेको प्रतिक्रिया दिए । उनले महानगर र उपमहानगरका लागि माथिल्लो स्तरबाटै निर्णय भएकाले छिट्टै नै प्रदेश तथा जिल्लास्तरबाट पनि पालिकाका लागि बाँडफाँडका लागि लागि परेको बताए ।

तर नेपाली कांग्रेस धनुषाका सहसचिव विजय यादवले केन्द्रिय गठबन्धनले गरेको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेपनि तल्लो कमिटीको निर्णय अनुसार नभएकाले यसप्रति जिल्ला पार्टीमा छलफल हुने जानकारी दिए ।

यता काँग्रेस जनकपुरधाम उपमहानगर कमिटीका नगरसभापति मनोजकुमार साहले भने केन्द्रिय गठबन्धनले गरेको निर्णयलाई नमान्ने बताउँदै आएका छन् । उनले गठबन्धन विरुद्ध उम्मेवारी दिने आन्तरिक तयारीमा समेत लागि परेका छन् । यसका लािग उनीसहित कांग्रेसबाट जनकपुरधाम उपमहानगरमा विद्रोह गर्ने तयारी थालेको उनले जानकारी दिए ।
जसले गर्दा काँग्रेसले गठबन्धनको निर्णय मान्नेमा आशंका उत्पन्न भएको छ ।

सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गर्दा यसको फाइदा अन्य राजनीतिक दलले उठाउने सम्भावना प्रवल रहेको देखिन्छ ।
गठबन्धनभित्र अन्तरघात नभए कांग्रेस र जसपा फेरी पनि मधेशमा थप सशक्त हुने आँकलन राजनीतिक विश्लेषकहरुले गरेका छन् । तर स्थानीय स्तरमा चुलिएको विवादले गठबन्धन भित्र अन्तरघात हुने संकेत छ ।

सत्तारुढ गठबन्धनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा बढी किचलो देखिन्छ ।
पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह मेयरमा निर्वाचित छन् । मेयर साहले २१ हजार ९सय ३ मत ल्याएका थिए । निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साह उनका निकटतम् प्रतिद्वन्द्वी थिए ।

मनोजले ११ हजार १ सय ६४ मत ल्याएका थिए । नेकपा एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८सय ६५, तत्कालीन संघीय समाजवादी फोरमले ३ हजार ६ सय १२ र माओवादी केन्द्रका उम्मेदवारले २ हजार १ सय २८ मत ल्याएका थिए ।

अहिले जनकपुरधामका नगरप्रमुख लालकिशोर साह जसपामा छन् । तत्कालिन राजपा र तत्कालिन संघिय समाजवादी पार्टी मिलेर बनेको जसपा विभाजनपछि लालकिशोर जसपा तर्फ लागे । जनकपुरधाम उपमहानगरपालिका सत्तारुढ गठबन्धनको भागवण्डामा जसपालाई परेपछि फेरी लालकिशोर नै जसपाबाट उम्मेदवारमा बन्ने सम्भावना रहेपनि उनको विकल्पको पनि खोजी भइरहेको जसपाले जनाएको छ ।