काठमाण्डौ, बैशाख ९

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ भने वैशाख २० गतेसम्म परीक्षा चल्नेछ ।

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा स्थगित हुँदै आएको परीक्षा यस वर्ष भने हुँदै छ । कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दै छ ।

यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ ।

नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

त्यस्तै प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

एसईईमा सबैभन्दा बढी काठमाण्डौबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने छन् ।