जनकपुर, बैशाख ९

केन्द्रिय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाम जनता समाजवादी पार्टी नेपालको भागवण्डामा परेपछि उपमेयरसहित वडामा सबै भन्दा बढी नेपाली काँग्रेसको भागवण्डामा परेको छ ।

काँग्रेसको भागवण्डामा जनकपुरधाम उपमहानगरको उपमेयर सहित १२ वटा वडा परेको हो ।

स्थानीय तहको प्रमुख र उपप्रमुख सहित अधिकांश वडाहरु जसपा नेपाल र काँग्रेसको भागमा परेपछि नेकपा माओवादी केन्द्रले पनि जनकपुरधाम उपमहानगरपालिकामा आधा दर्जन भन्दा बढी वडामा दावी गरेको जानकारी प्राप्त भएको छ ।

स्थानीयस्तरमा गठबन्धनहरुको बैठकले निरन्तरता पाउन थालेपछि माओवादी भित्रपनि विभिन्न वडामा दावी गर्न थालेपछि आकांक्षी उम्मेवारहरुले वडामा चुनावी प्रचारप्रसार केन्द्रित गर्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४ स्थित मुजेलीयामा माओवादीबाट दिपक पटेलको नाम वडाअध्यक्षका लागि चर्चा हुन थालेको छ ।

मुजेलियामा माओवादीका नेता दिपक पटेलको नाममा चर्चा हुन थालेपछि उनलाई वडा नम्बर १४ का वडाअध्यक्ष उम्मेदवार बन्नका लागि स्थानीयस्तरबाट समेत दवाव आउन थालेको हो ।

माओवादी धनुषा जिल्ला समिति सदस्य समेत रहेका दिपक पटेलले पार्टीले आफुलाई टिकट दिनेमा विश्वस्त रहेको बताउँदै उनले पार्टीको निर्णय अनुसार अघि बढ्ने बताएका छन् ।

स्रोतको अनुसार माओवादीले गठबन्धनभित्र सात वटा वडामा दावी गरेको छ ।