जनकपुर, बैशाख ९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसका नेताहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

सत्ता गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी नेपाललाई दिएपछि काँग्रेस नेताहरु असन्तुष्ट बनेका छन ।

असन्तुष्ट भएका काँग्रेस नेताहरुले आज २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने तयारी गरेका छन । उनीहरुले उपमहानगरपालिकाका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने तयारी समेत गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी आफूहरुको आधिकारिक धारणा सार्वजनिक गर्ने जनकपुरधाम उपमहानगरपालिकाका काँग्रेस सभापति मनोज साहले जानकारी दिए । उनले भने, ‘पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका मतदातामाथि अन्याय गरेको छ, त्यसबारे आवश्यक निर्णय लिनेछौ ।’

उनले भने, ‘राजीनामा पनि आउनसक्छ, अरु पनि केही हुनसक्छ त्यो कुरा सबै पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौँ, स्वतन्त्र उम्मेदवारी दिने कुरा पनि चलिरहेको छ, यी विषयमा आजै जानकारी गराउँछौँ ।’ सभापति साह विमलेन्द्र निधि निकट नेता हुन् ।