जनकपुर, बैशाख ९

नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगर कमिटीका नगर सभापति मनोज साहले राजीनामा दिएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्तारुढ गठबन्धनले महानगर तथा उपमहानगरको बाँडफाँड गरेपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेपछि काँग्रेस जनकपुरधाम उपमहानगर कमिटीका नगर सभापति, सचिव, कोषाध्यक्ष, वडासभापति सहित सयौँ कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका छन् ।

नगरसभापति साहसँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साहले काँग्रेसबाट असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

त्यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरि अढाई सय भन्दा बढीले राजीनामा दिने समेत बताए ।

काँग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफु स्वतन्त्र उम्मेदवार दिने बताए ।

यता नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दिपक यादवले केन्द्रिय गठबन्धन अनुसार गठबन्धनको निर्णयलाई स्वीकर गर्दै सोही अनुरुप अन्य घटक दलहरुले कार्यान्वयन गर्नेमा विश्वस्त रहेको बताए ।

उनले गठबन्धन संविधान रक्षा र प्रतिगमनलाई परास्त पार्नका लागि भएकाले काँग्रेसको आन्तरिक असन्तुष्टीले फरक नपर्ने दावी समेत गरे ।