काठमाण्डौं, बैशाख ९
काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार नेपाली काँग्रेसले सिर्जना सिंहलाई बनाउने भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको छ ।
बैठकका बीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ ।
काठमाडौंको मेयरमा उहाँको सम्भावना बढी छ छ । औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ ।’ काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
काँग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप–मेयरका उम्मेदवार चयन गर्ने छ । ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतः तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकामा मुख्यतः वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल भइरहेको छ । यस्तै विराटनगर महानगरपालिकामा डिला संग्रौला, भीम पराजुली लगायतको नाममाथि छलफल भइरहेको छ ।
को हुन् श्रृजना ?
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि भने लामो छ ।
उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।
०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।
०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।