जनकपुर, बैशाख ९

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेश सभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

शुक्रबार प्रदेश सभाको प्रशासन शाखा प्रमुख जानकी शरण साहलाई आफ्नो राजीनामापत्र बुझाएका छन् ।

त्यस्तै मधेश प्रदेश सरकारका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र प्रदेश सभा सदस्य परमेश्वर साह समेतले मेयरमा चुनाव लड्न राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिनका लािग मन्त्री पदबाट राजीनामा दिएको मन्त्री यादवले बताए । मन्त्री यावले पार्टीको दबाव र मतदाताको चाहना भएकाले आफूले मेयर पदमा चुनाव लड्न बाध्य भएर राजीनामा दिन लगेको उनले भने ।

उनले राजिनामा बुझाउनका लागि प्रक्रिया अघि बढाइसकेको बताउँदै उनले आइतबारसम्म राजीनामा दिनेछु भने ।

मन्त्री यादव २०७४ सालको नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । तर नेकपा एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी तर्फ लागे । गत मंसिर ५ गते मधेस प्रदेश सरकारको कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नका लािग प्रदेश सभा सदस्य परमेश्वर साहले समेत राजीनामा दिन लागेका छन् । लोसपाका प्रमुख सचेतक समेत रहेका साहले पार्टीको निर्देशन र कार्यकर्ता तथा मतदाताको स्नेहका कारण आफूले प्रदेशसभा सदस्यबाट राजीनामा दिन लागेको बताए ।

लोसपा नेपालबाट उपमहानगरपालिकाका लागि प्रदेश सभा सदस्य साहसहित अमर पँजियार, संजय चौधरी र मनोज चौधरीको मेयर पदमा नगर कमिटीबाट केन्द्रिय समितिमा सिफारिस गरेको छ ।