सर्लाही, बैशाख १०
सर्लाहीको बलरा नगरपालिकामा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।
शुक्रबार दिउँसो वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बरबुझारथ गरेर ल्याएको भरपाईमा सही गर्न नमानेका कारण मण्डलले आफूलाई कुटेको पण्डितले बताए ।
‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, उनले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’
उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको बताए । वडाअध्यक्षको कुटाइबाट घाइते भएका सचिव पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पठाइएको थियो । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे ।