
जनकपुर, बैशाख १०
दलहरुले अहिलेसम्म पनि पालिकाको उम्मेदवारी टुंगो लगाउन नसक्दा स्वतन्त्र उम्मेदवारी दिनेहरु बढ्दै गएका छन् ।
दलहरु आन्तरिक बैठक तथा छलफलमा व्यस्त रहँदा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारीका लािग व्यवसायी बैद्यनाथ साहले घोषणा गरेका छन् ।
असहाय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साहले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्वतन्त्र उम्मेदवार रहेको घोषणा गरेका साहले आफू विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै जनकपुरधामवासीले आफूमाथि विश्वास गरेर मत दिने विश्वास व्यक्त गरे ।
स्थानीयस्तरमा जानकी केवल र जानकी टिभिका सञ्चालक समेत रहेका साहले जनकपुरधामलाई दोस्रो ठुलो पर्यटकीय स्थल बनाउन सकिने भन्दै आफू जितेपछि यहाँका पोखरी,् मठमन्दिर र नगरको सरसफाई तथा सौन्दर्यकरण आवश्यकता रहेकाले यसैलाई प्राथमिकता दिने बताए ।
जनकपुरधाम उपमहानगरको मेयर पदका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली काँग्रेसका नगरसभापतिबाट राजीनामा दिएका मनोजकुमार साहले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।