पोखरा, बैशाख १०

कास्की – पालिका चुनावमा उम्मेदवारी दिनका लागि कास्कीका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि कास्कीमा अहिलेसम्म ५० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा बुझाएका छन् ।

पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्षसहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म राजीनामा आएको छैन ।

पोखरा महानगरपालिकामा वडा नम्बर ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ र ३३ का शिव आचार्यले राजीनामा दिएर दोहोरिने सम्भावना देखाएका छन् । वडा नम्बर ३० की सदस्य रमा नेपाली, वडा नम्बर २७ की सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले राजीनामा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दीनबन्धु पौडेल, वडा नम्बर १७ की सदस्य राधिका कुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारी लगायतले राजीनामा दिइसकेका छन् ।

रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १५ जनाले राजीनामा दिँदै छन् । गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङले पनि राजीनामा दिने तयारी गरेका छन् । उनीहरु दुवैजनाले राजीनामा दिने भएकाले कसलाई दिने भन्ने टुङ्गो लागेको छैन ।

रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ, वडा नम्बर २ की कार्यवाहक अध्यक्ष हिता रुपाखेती वडा नम्बर ७ का अध्यक्ष दयासागर सुवेदीले पदबाट राजीनामा दिएका छन्। दयासागर कांग्रेसबाट निर्वाचित हुनुभएको हो भने अरु सबै एमालेबाट निर्वाचित भएका हुन् । सबैभन्दा बढी रुपामा जनप्रतिनिधिहरु दोहोरिने देखिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङ र वडा नम्बर ८ का अध्यक्ष कृष्ण दवाडीले राजीनामा बुझाएका छन्। मादी गाउँपालिकामा वडा नम्बर २ का अध्यक्ष एकजङ्ग गुरुङसहित सबै वडा सदस्यहरुले राजीनामा दिएका छन् ।