जनकपुर, बैशाख १०
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको नाम टुंगो लगाएको छ ।
शनिबार लोसपाको केन्द्रिय कार्यालयमा बसेको बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रिता कुमारी मिश्रको नाम उम्मेदवारीका लागि टुंगो लगाएको हो ।
जनकपुरधाम नगर कमिटी, जिल्ला पार्टी कमिटी हुँदै प्रदेश पार्टीबाट सिफारिस भएका नामहरु पठाएको मध्येबाट नै पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकबाट टुंगो लगाएको जनाएको छ ।
यसअघि जनकपुरधामका उपमेयर रहेका मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको हो भने मेयरका अर्का आकांक्षी जानकीराम साहले पार्टी परित्याग गरेपछि मेयरमा चौधरीको नाममा स्वत ः सर्वसम्मत सिफारिस गरेको थियो ।
चैत २७ गते बसेको लोसपा नेपाल धनुषाको नगर स्तरीय बैठकबाट यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको थियो ।
लोसपाबाट जनकपुरधाम उपमहानगरको नगरप्रमुखका लागि मनोजकुमार चौधरी, परमेश्वर साह, संजयकुमार चौधरी, अमर पंजियार र जानकीराम साहको नाम सिफारिस गरेको थियो ।
भने उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, निवर्तमान उपमेयर रिता कुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरेको थियो ।