जनकपुर, बैशाख १०
मधेश प्रदेशमा गठबन्धन दल वीच सहमतिको प्रयास जारी रहेपनि घटक दलमा आन्तरिक किचलोका कारण अहिलेसम्म उम्मेदवारीको नाम टुंग्याउने विषयमा अन्योल देखिएको छ ।
सत्तारुढ गठबन्धनका मुख्य घटक दल नेपाली काँग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्ज महानगरपालिकालगायत मुख्य पालिकामा स्थानीय पार्टीले दावी गरेपनि जनता समाजवादी पार्टी नेपालको भागवण्डामा परेपछि काँग्रेस भित्र असन्तुष्टि पक्षले पार्टी छाडेका छन् ।
त्यस्तै यता जसपामा पनि मन्त्री रेणु यादवले एक्लौटी गर्न खोजेपछि मधेश प्रदेशको स्थानीयतहमा टिकट वितरण गर्ने काम भने हुनसकेको छैन ।
स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघि शनिबार जसपा नेपालकको टिकट संघीय मन्त्री रेणुकुमारी यादवले आफैसँग राखेकी छन् ।
जसपा नेपालको केन्द्रीय समितिले पार्टीका कार्यकारिणी सदस्य समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादव मार्फत प्रदेश समितिलाई हस्तान्तरण गर्न दिउँसो जनकपुरधाम आएपनि उनले प्रदेश समितिलाई हस्तान्तरण गरिनन् ।
उनले राजविराजलगायत विभिन्न पालिकामा आफ्नो मान्छे हुनुपर्छ भन्ने सर्त राखेपछि जसपा मधेश प्रदेश समितिमा समस्या उत्पन्न भएको हो । त्यसपछि उनी जनकपुरधामबाट महोत्तरी स्थित बर्दिबासमा मन्त्री यादव विश्रामका लागि एक होटेलमा छिन् ।
संघको राजधानी काठमाण्डौबाट उम्मेदवारी छनोटका लागि टिकट लिएर आएकी मन्त्री यादवले महोत्तरीको बर्दिवास स्थित एक होटलमा पर्सा जिल्लाको टिकट वितरण गरेको प्रदेश समिति सदस्य मनोज देवले जानकारी दिए ।
जसपा प्रदेश समितिको कार्यालयमा छलफलमै रहेको बेला मन्त्री यादवले प्रदेश र जिल्ला समिति पर्सालाई जानकारी नै नदिई आफु खुशी टिकट वितरण गरेको प्रदेश सदस्य देवले आरोप लगाए ।
मन्त्री यादवले सप्तरी जिल्लाको स्थानीय तहको टिकट पनि आफैंले भनेको व्यक्तिलाई दिनुपर्ने भन्दै जसपा मधेश प्रदेश समितिलाई टिकट हस्तान्तरण गर्न नचाहेको आरोप उनीमाथि छ ।
मन्त्री यादवको गतिविधिले पार्टीमा रहेका पुराना नेता तथा कार्यकर्तालाई बेवास्ता गदै पाखा लगाउने प्रवृति देखिएको जसपाका नेताहरुको आरोप छ ।
जसपा मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले मन्त्री रेणु यादवले टिकट लिएर राजधानीबाट आएपनि अहिलेसम्म प्रदेश समितिमा हस्तान्तरण नगरेको बताए ।
टिकट वितरणमा प्रदेश समितिको अधिकारमाथि मन्त्री रेणु यादवले अंकुश लगाउन खोजेपछि जसपा मधेश प्रदेश समिति, जिल्ला समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतको दावी छ ।
स्रोतले जनाए अनुसार मन्त्री यादवले टिकटमा एक्लौटी गरेमा सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।