एजेन्सी, बैशाख ११

आइपिएल २०२२ मा गुजरात टाइटन्सले शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको छ।

शनिबार दिनको पहिलो खेलमा कोलकता नाइटराइडर्सलाई ८ रनले पराजित गर्दै गुजरातले ७ खेलबाट १२ अंक जोड्यो।

दोस्रो स्थानको राजस्थान रोयल्स र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरको १०–१० अंक छ।

गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन मात्र जोड्न सक्यो।

उसका लागि आन्दे रसेलले ४८ रन जोडे। अन्तिम ओभरमा १८ रन चाहिएको स्थितिमा रसेलले पहिलो बलमा छक्का हिर्काएका थिए। तर दोस्रो खेलमा अल्जारी जोशेफको बलमा आउट हुन पुगेका जसका कारण कोलकता पराजित भयो।

रसेलबाहेक कोलकताका लागि रिन्कु सिंहले ३५ रन जोडे।

बलिङमा गुजरातका मोहमद सामी, यश दयाल र रासिद खानले २–२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १५६ रन जोड्यो।

उसका लागि कप्तान हार्दिक पाण्ड्याले ६७ रन जोडे। उनले ४९ बलमा ४ चौका र २ छक्का हिर्काए। डेभिड मिल्लर २७ रन र ऋद्धिमान साहले २५ रन जोडे।

बलिङमा कोलकताका आन्द्रे रसेलले ४ विकेट लिए भने टिम साउथीले ३ विकेट लिए।