जनकपुर, बैशाख ११

बैशाख ३० गते हुने निर्वाचनका लागि अहिले गठबन्धन आवद्ध अन्य दलहरु पनि उम्मेदवारी छनोट गर्न सकिरहेका छैनन् ।

यसैक्रममा गठबन्धनको घटक दल जनता समाजवादी पार्टी नेपालमा भने टिकट वितरणको विषयलाई लिएर कुटाकुट भएको छ ।
आइतबार विहान जनकपुरधाम स्थित राजदरवार होटेलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररुप लिँदा नेता तथा कार्यकर्ता वीच कुटपीट भएको हो ।

कुटपीटको क्रममा जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ ।

स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लािग विहान देखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरुले टिकटका लागि नेताहरुलाई दवाव दिँदै आएका थिए ।

तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्षनेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुुटपीट भएको थियो ।

सो क्रममा गजाधार यादव भने आक्रोशित यूवा कार्यकर्ताको निसानामा परेपछि उनी कुटिएका हुन् ।