
जनकपुर, बैशाख ११
यही बैशाख ३० गते स्थानीयतहको निर्वाचनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार भएको उम्मेदवारी मनोनयनको पहिलो दिन मेयरमा ८ जना गरी कूल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
उनले पहिलो दिन दुई राजनीतिक दल र स्वतन्त्र गरी आठ जनाको मेयर पदमा उम्मेदवारी परेको हो ।
त्यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले बताए ।
जनकपुरधामको मेयरमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी दर्ता भएको छ । भने स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको उनले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य ११६ जनाले वडाअध्यक्ष र वडा सदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
यता गठबन्धन दलसहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राप्रपा, राप्रपा नेपाललगायतका दलले सोमबार दर्ता गराउने जनाएका छन् ।