जनकपुर, बैशाख ११

जनता समाजवादी पार्टी नेपालबाट धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादव टिकट लिनका लािग लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

आइतबार विहान जनकपुरधाम स्थित राजदरवार होटेलन जसपा नेपालको बैठकबाट टिक नपाउने थाहा पाएपछि उनका समर्थकहरुले जसपाका नेताहरुलाई कुटपीट समेत गरेका थिए । निवर्तमान मेयरको नाममा टिकटको टुंगो लाग्ने सम्भावना नदेखेपछि रामबाबु यादवको अगुवाई जसपाका प्रदेश सदस्य निसा मोक्तानको अगुवाईमा लोसपामा प्रवेश गरेका छन् ।

जसपा बैठकमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य गजाधर रोहिता यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, प्रदेश उपाध्यक्ष शेषनारायण यादवलगायतका नेताहरु छलफल गरिरहँदा आक्रोशित समुहले विवाद झिक्दै हातपात समेत गरेका थिए । सो क्रममा नेता गजाधर रोहिता यादवसहित १० जना घाइते भएका थिए ।

सो घटना पछि निवर्तमान रामबाबु यादवले जसपा नेपाल परित्याग गर्दै लोसपा नेपालमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया र धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहलगायतकाले आज माला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश पछि नवप्रवेशी रामबाबु यादवले जसपामा एकलौटी निर्णय हावी भएको र पूराना नेता कार्यकर्तालाई अवमूल्यन गरिएकोले बाध्य भएर आफूले गद्दार र दलालको पार्टी छाडेर लोसपामा प्रवेश गरेका बताए ।