धनुषा, बैशाख ११
यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मनोयन पत्र दर्ता सुरु भएको छ ।
तर धनुषाको बटेश्वर गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भने कसैलेपनि उम्मेदवारी दर्ता गराएनन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न गराउन बटेश्वर स्थित गाउँपालिकाको पालिकास्तरीय निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको पहिलो दिन कसैले दर्ता नगराएको जनाएका छन् ।
उम्मेदवारी दर्ताका लागि बिहान १० देखि दिउँसो ५ बजेसम्म कार्यालयमा बसेपनि उम्मेदवारी दर्ता गराउने कोही नआएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।
सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारले एकैदिन मनोनयन दर्ता गराउँदा कार्यालयमा भिड बढ्ने र काम गर्न समस्या हुने हुँदा बटेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयले आइतबार र सोमबार गरी दुई दिन उम्मेदवारी दर्ता गराउन सक्ने सूचना सार्वजनिक गरेको छ ।
तर राजनीतिक दलहरु उम्मेदवार छनोटमा छलफलमै रहेकाले मनोनयन दर्ताको पहिलो दिन कोही नआएको हो ।