
जनकपुर, बैशाख १२
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नवप्रवेशी जानकीराम साहलाई मेयरमा उम्मेदवारी बनाउने चर्चा चलेपनि अन्तिमसमयमा नेकपा एमालेले व्यवसायी शिवशंकर साह हिरालाई नै उम्मेदवारको रुपमा अघि सार्दै मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा हिरा र उपमेयरमा नेपाली काँग्रेस परित्याग गरि सोमबार एमालेमा प्रवेश गरेका रुना झाले उम्मेदवारी दर्ता गराएकी छन् ।
उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको दोस्रो दिन सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।
रुनालाई काँग्रेसले उपमेयर पदमा टिकट दिने आश्वासन दिने भनेपनि अन्तिमसमयमा अर्कैलाई उम्मेदवारी दिएपछि उनले तत्काल काँग्रेस छाड्दै एमालेकी पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको हातबाट टिकाटालो लगाउँदै एमालेमा प्रवेश गरेका हुन् ।