काठमाण्डौ, बैशाख १२

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यसैक्रममा देशका ११ उपमहानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले आ–आफ्ना उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रदेश नम्बर १ को धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेबाट मेयरमा मञ्जु काफ्ले र उपमेयरमा पदम लिम्बुले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले मेयरमा र नेकपा एकीकृत समाजवादीका केशवबहादुर विष्टले उपमेयरमा उम्मेदवारी दिएका छन् । यहाँ एमालेबाट मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा जसपा नेपालका लालकिशोर साह र उपमेयरमा नेपाली काँग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन् । भने एमालेबाट मेयरमा शिवशंकर साह ‘हिरा’ र उपमेयरमा रुना झाले उम्मेदवारी दिएकी छन् ।

मधेश प्रदशको जीतपुर सिमरा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेपाली काँग्रेसका मेघा शाहीले उम्मेदवारी दिएका छन् । यहाँ एमालेबाट मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै कलैया उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका राजेश राय यादवले मेयरमा र जसपा नेपालका प्रमोदप्रसाद गुप्ताले उपमेयरमा उम्मेदवारी दिएका छन् भने यहाँ एमालेबाट विनोद साहले मेयरमा र रौशन प्रविनले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका मीना लामा र उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँले उम्मेदवारी दिएका छन् भने एमालेबाट अनन्त पौडेलले मेयरमा र सुमित्रा काफ्लेले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै बुटवल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट बाबुराम भट्टराई मेयरमा र सावित्रादेवी अर्यालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा र नेपाली काँग्रेसका भूपबहादुर डाँगीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा मनकुमारी डिसीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् भने एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपा नेपालका कमरुद्दिन राइले उम्मेदवारी दिएका छन् भने एमालेबाट पशुपतिदयाल मिश्रले मेयरमा र शान्तिदेवी ढकालले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै धनगढी उपमहागरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका नृप वड र उपमेयर पदमा माओवादीकी नेतृ शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् भने एमालेबाट मेयर पदमा रणबहादुर चन्दले र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गराएका छन् ।