जनकपुर, बैशाख १२

२०७४ सालमा स्थानीय तहको चुनाव हुँदा जनकपुरधामका जनता निकै उत्साहित थिए । करिब २० वर्षपछि आफ्नो क्षेत्रमा आफैले आफ्नो अधिकार र विकास गर्नका लागि नेतृत्व चयन गर्न सक्नेसहितका व्यवस्थाका कारण जनकपुरधाम नगरवासी उत्साहित देखिन्थेँ ।

त्यतिबेला जनकपुरधामसहित तराई मधेशका अधिकाशं जिल्लाहरुमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको थियो ।

स्थानीय तहको चुनाव हुनुभन्दा करिब १ वर्ष अगाडी मधेशीहरुको हकअधिकारका लागि भन्दै गरिएको अधिकारको आन्दोलनले तत्कालीन राजपा नेपाललाई जनताले विजयी गराए । उक्त पार्टीले नगरप्रमुख÷उपप्रमुखसहित वडाध्यक्ष पदहरुमा समेत आफ्ना जनप्रतिनिधिहरु ल्याउन सफल भए । जनताले पनि नगरको विकास गर्न मधेश केन्द्रित दलहरुलाई चयन गरे ।

तर नगरको स्वास्थ्य, शिक्षा, खानेपानी, फोहोरमैला व्यवस्थापन हुने आश गरेका जनताले भने ५ वर्षको अवधिमा न आफुले चुनेका जनप्रतिनिधिसँग आश गरेका सेवासुविधा पाए न त सम्मानजनक व्यवहार नै ।

विगतको स्थानीय तहको चुनावी प्रतिस्पर्धा र विजयी हुने उम्मेदवारहरुको आँकडा हेर्दा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम उपमहानगरपालिकामा मात्रै १ दर्जनभन्दा बढी उम्मेदवारहरु वडाध्यक्ष पदमा जित निकालेका थिए । यसपटक भने सोचे अनुरुपको नगरको विकास नभएको, पार्टी फुटको प्रभाव, र जितेका जनप्रतिनिधिहरुले जनताप्रति देखाएको व्यवहारले गर्दा मधेश केन्द्रित दलहरुको अवस्था कमजोर रहेको विज्ञहरुको भनाई रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा कुल २५ वटा वडाहरु रहेका छन् ।

विगतको स्थानीय तह चुनावमा राजपा नेपालबाट वडा नम्बर १ मा शत्रुधन साह, वडा नम्बर ३ मा दिपेन्द्र साह, ४ मा सुदर्शन सिंह, ७ मा जानकी राम साह, ८ मा रमेश ठाकुर, २० मा भोगेन्द्र झा लगायत वडाध्यक्षमा विजयी भएका थिए । अन्य वडाहरुमा नेपाली कांग्रेस, तत्कालीन संघीय समाजवादी फोरमसहितका पार्टीले जित हासिल गरेका थिए ।

यस वर्ष भने ती मध्ये वडा नम्बर ३ का वडाध्यक्ष तराई मधेश लोकतान्त्रिक पार्टीबाट वडाध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका छन् भने ४ का वडाअध्यक्ष सुदर्शन सिंह हालको लोकतान्त्रिक समाजवादी पार्टीबाट, वडा नम्बर ९का वडाध्यक्षमा फेरी कांग्रेसबाट परमेश्वर साह टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

नगरको विकास हुने, स्थानीय तहमा नेतृत्व नहुँदा आफुहरुले भोगेका समस्याहरु अन्त्य हुनेमा विश्वस्त रहेको नगरवासी उक्त सोच अनुसारको प्रतिफल नपाउँदा यसपटक भने सजग रहेको देखिन्छ ।

यसपटकको चुनावी प्रतिस्पर्धा भने त्यति सहज नदेखिएको उम्मेदवारहरु स्वयं स्वीकार गरिरहेका छन् ।

विगतको चुनावबाट जितेर आएका जनप्रतिनिधिहरुले गरेको कामकारबाहीबाट नगरबासी निराश देखिएकाले यसपालीको चुनावमा वडामा जित्न पनि चुनौतीपूर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १०बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सुशिल कर्णले बताए ।

यसअघिको चुनावबाट जितेर आएकाहरुबाट जनताले अपेक्षा गरेका कामहरु हुन नसकेपछि यसपाली वडावासी हाम्रालाई भन्दा पनि वडा स्तरमा जनताको विभिन्न समस्याहरु समाधान गर्न लागि परेकाहरुलाई जिताउनेमा अडिग रहेको वडा नम्बर ७ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मोहम्मद मुस्ताकले बताए ।

विगतको चुनावबाट जितेर आएका नेतृत्वपंक्तिको व्यवहारमा जनताप्रतिको गैरजवाफदेहिताले नगरवासी आजित भईसकेकाले यस पटकको चुनाव प्रतिस्पर्धात्मक भएपनि अब विजयी हुने जनप्रतिनिधिले विगतबाट पाठ सिके मात्रै नेतृत्वको जिम्मेवारी पाउने अवस्था रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष पदका आकांक्षी उम्मेदवार सुशील कर्णले बताए ।