जनकपुर, बैशाख १३

धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल बीच चुनावी तालमेल भएको छ ।

भागवण्डामा जसपाले ११ वटा वडामध्ये ५ वटा वडामा वडाअध्यक्ष लिएका छन् भने माओवादीले ६ वटा वडाअध्यक्षसहित मेयर, उपमेयर पाएको छ । जसपाले वडा नम्बर १, २, ४, ५ र वडा नम्बर ६ रहेको जनाइएको छ ।

त्यस्तै माओवादी केन्द्रले वडा नम्बर ३, ७, ८, ९, १० र वडा नम्बर ११ पाएको हो । माओवादीबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

भागवण्डामा परेका वडाबाट दुबै दलले वडाअध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको मेयर पदका उम्मेदवार रहेका नेता रामकुमार महतोले जानकारी दिए ।

मिथिला नगरपालिकामा गत २०७४ को निर्वाचनमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर निर्वाचित भएका थिए ।