जनकपुर, बैशाख १५

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले दलबलसहित परिचालन भएका छन् ।

देशको चार वटा प्रदेशमा जनमतले आफ्नो उपस्थिति देखाउँदै स्थानीय निर्वाचन केन्द्रित हुँदै १ हजार २ सय भन्दा बढी वडामा वडाअध्यक्षसहितको उम्मेदवारी दर्ता गराएका छन् । मधेश प्रदेशको हरेक पालिका, प्रदेश नम्बर १ को उदयपुर, सुनसरी, मोरंगसहितका केही पालिका, लुम्बिनी प्रदेशको अधिकांश पालिका र बागमति प्रदेशको केही पालिकामा गरि कुल १८० भन्दा बढी स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यसहित सहितकाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुलुकमा कुल ७ सय ५३ पालिकामध्ये १ सय ८० भन्दा बढी पालिकामा जनमत पार्टीले मनोनयन दर्ता गराएका छन् । कुल ६ हजार ७ सय ४३ वडा मध्ये १२ सय भन्दा बढी वडामा मनोनयन दर्ता गराएको जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए ।

०७४ को स्थानीय तहको निर्वाचनको बेला तत्कालिन स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा. सिके राउतले ‘कोठली बाहार मत’ को अभियान चलाएका थिए । त्यसपछि अलगाववादको आन्दोलनलाई विसाउँदै जनमत पार्टीको गठन र स्थापनासंगै भएको मध्यवाधि अर्थात उपनिर्वाचनमा जनमतले ४४ वटा पालिकामा विभिन्न ४८ पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्षसहित ८ वटा वडामा भाग लिएका थिए ।

०७४ मा भएको स्थानीय तहको निर्वाचनमा ‘कोठली बाहार मत’ अभियान चलाएका सिके राउतको गठबन्धनले जनमत पार्टीमा स्वरुप बद्लेसंगै अहिले जनमतलाई मतदान भन्दै चुनावी अभियानलाई गाउँ घरमा तिव्रताका साथ अघि बढाएका छन् ।

मध्यावधि निर्वाचनमा ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि भएको मनोनयनमा जनमत पार्टीले विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको थिए । भने मधेस प्रदेशमा भएको उपनिर्वाचनमा प्रदेश ५, कपिलवस्तु र प्रदेश १ को मोरङको एउटा स्थानीय तहमो उम्मेदवारी दर्ता गराएको थिए ।

जनमत पार्टीका महासचिव सिंहले सामुदायिक स्वराजका लागि प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउनका लागि निर्वाचनमा होमिएको बताउँछन् ।

उनले यस निर्वाचनमा पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला पार्टीका पदाधिकारी तथा सदस्यहरु अहिले पालिका तथा वडा केन्द्रितरुपमा परिचालित रहेकाले संगठन निर्माण विस्तारदेखि बुथ परिचालन कमिटी र आन्दोलन परिचालन कमिटी समेत निर्माण भईसकेको अवस्थामा अधिकांश पालिकामा जनमत पार्टीको उपस्थितिसहितको पकड पनि राम्रो रहेको दावी गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन अघि नै हामी किसान आन्दोलनमा सक्रिय थियौँ, निर्वाचन आएपछि हामीले आन्दोलन र निर्वाचनलाई पनि संगै लाने योजना अनुसार पार्टी कमिटी, भ्रातृसंगठन, आन्दोलन परिचालन संगठन, बुथ परिचालन समितिलगायत विभिन्न कमिटीहरु गाउँगाउँमा वडास्तरसम्ममा गठन गरिसकेका छाँै, त्यसैले हाम्रो जित सुनिश्चित छ ।’

महासचिव सिंहले अघि थप्दैँ भने, ‘ विगतको उपनिर्वाचनमा हामीले अधिकांश पालिकामा उपस्थिति देखाउन सफल भयौँ, यसपालि हामीले १८० वटा पालिकामा भन्दा बढी पालिकामा उम्मेदवारी दिएपनि ५० वटा भन्दा बढी पालिकामा जित सुनिश्चित छ ।’

उनले पार्टीको लक्ष्य अधिकांश पालिकामा जित्ने रहेपनि अहिलेसम्मको रिपोर्ट अनुसार ५० वटा पालिका भन्दा बढीमा जित सुनिश्चित रहेको दावी गरे ।

 

मधेस प्रदेशका ८ वटै जिल्लाका पालिकासंगै लुम्बिनी प्रदेशका बाँके, बर्दिया, कञ्चनपुर, नवलपरासी, बुटवल, बागमति प्रदेशका चितवन, प्रदेश नम्बर १ का मोरंग, सुनसरी, उदयपुर, झापालगायतमा समेत उम्मेदवारी दिइएका छन् ।