काठमाण्डौं, बैशाख १५
नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको जनाएका छन ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले साबुनको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र यस क्षेत्रबाट हजारौंले रोजगारी समेत पाइरहेको जानकारी दिएका छन ।
‘लन्ड्री सोप, डिटरजेन्ट पाउडर, डिटरजेन्ट केक, ह्याण्ड वास, टिस्यू, ट्वाइलेट क्लिनर, फिनेल अगरबत्ति, ट्वाइलेट सप र ट्वाइलेट पेपरमा हामी आत्मनिर्भर छौं,’ संघले विज्ञप्तिमा लेखेको छ ।
हाल देशमा १९ वटाभन्दा बढी यस्ता सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।
यी उद्योगले हजारौं मजदुर र कर्मचारीलाई रोजगारी दिएको तथा आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा बाहिरिनबाट रोकेको संघले बताएको छ ।
यस्तै, राज्यलाई कर संकलनमा समेत उल्लेख्य योगदान गरेकाले यी वस्तुको आयात खुलाउने वैशाख १३ गतेको नेपाल सरकारको निर्णय उल्ट्याउन संघले माग गरेको छ ।
यसअघि, यस्ता वस्तुको आयातमा लागिरहेको रोक १३ गतेदेखि खुलेकाले यी वस्तु उत्पादन गर्ने उद्योगहरू धरासायी हुने बताइएको छ । त्यसैले साबिक बमोजिम नै यी वस्तुको आयातमा पूर्ण बन्देज लगाउन संघले नेपाल सरकारसमक्ष माग गरेका छन ।