
जनकपुर, वैशाख १५
जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका शिवशंकर साह हिराले जनकपुरधाम उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
जनकपुरधाम वडा नम्बर २० स्थित देवपुरा रुपैठामा आयोजित एक कार्यक्रममा उनले संघियता स्थापित भएपछि भएको स्थानीय तह निर्वाचनबाट जनकपुरधामले पाएको जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको तीतो अनुभव जनकपुरवासीको रहेकाले भ्रष्टाचार मुक्त जनकपुरधाम बनाउन आफू अग्रसर भएको दावी गरे ।
उनले आफू नगरप्रमुखमा निर्वाचित भए उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालन गर्ने वचनवद्धता व्यक्त गरे ।
जनकपुरधाम धार्मिक नगर रहेकाले यहाँका मठ मन्दिरहरुलाई व्यवस्थित गरेर पर्यटकीय नगरीको रुपमा विकास गर्ने उनले अठोट व्यक्त गरे ।
त्यस्तै उपमेयरकी अकांक्षी रुना झाले जनकपुरधाम धार्मिक पर्यटनीय नगरी दृृष्टिकोणरुपमा विकास भए विकास र समृद्धिले नगरको स्वरुप फेरिने बताइन् ।
आफ्ना यीनै एजेण्डाहरुका साथ एमालेको जनकपुरधाम उपमहानगरको उपमेयरकी उम्मेदवार झाले वडा नम्बर २० देवपुरा रुपैठाका मतदताहरु समक्ष पुगेका थिए ।
उनले मतदाताहरुलाई जनकपुरधामको सर्वांगिन विकासका लागि निस्वार्थ भावले काम गर्ने वचनवद्धता व्यक्त गरिन् ।
घरदैलोमा उनीसंगै एमालेका वडा नम्बर २० का वडाअध्यक्षका उम्मेदवार मोती राइन कवारी सहित एमालेका नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।