
काठमाण्डौ, बैशाख १६
५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
शुक्रबार काठमाण्डौ स्थित विशेष अदालतमा जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मालपोत अधिकृत सुनिल झालाई चैत २८ गते पक्राउ गरेको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको उनले बताए ।