जनकपुरधाम, वैशाख १७ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अकांक्षी उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् ।
सबै उम्मेदवारले जनकपुरधामको भविष्य र वर्तमान केलाएर एजेण्डाहरु अघि सारिरहेका छन् । एमालेका उम्मेदवार मेयर शिवशंकर साह हिरा र उपमेयरकी उम्मेदवार रुना झाले न्यायिक समितिलाई व्यवस्थित र प्रभावकारी बनाउने बताउँछन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेंगा शिवपुर र वडा नम्बर ७ मा एमालेको उपप्रमुखको उम्मेदवार रुना झासंगै घरदैलोमा पुगेका हिराले ग्रामीण वडाहरुको विकासका लागि विशेष पहल गर्ने जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतवद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले दिएका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको बताए ।
यद्यपि यस अघि मठ मन्दिरको जग्गा अतिक्रणका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने बताए । जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसंग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै जनकपुरधाम उपमहानगरका अकांक्षी उपमेयरकी उम्मेदवार रुना झाले जनकपुरधाममा सामान्य झैँझगडाले समेत अदालतमा जानुपर्ने अवस्थालाई अब अन्त्य गरिने घोषणा गरेकी छिन् ।
अकांक्षी उम्मेदवार रुना झाले स्थानीय तहको अन्तर्गतमा रहेको न्यायिक समिति समेत अर्धन्यायिक निकाय रहेकाले सामान्य झैझगडाहरु स्थानीयस्तरमै समाधान गर्नुपर्ने भएपनि उपमेयरले काम गर्न नसक्दा सामान्यरुपले भयावहरुप लिएकाले यसको समाधान आफुले गर्न सक्ने दावी गरिन् ।
उपप्रमुखको उम्मेदवार झाले उपप्रमुखको अधिकार क्षेत्र अन्तर्गत रहेको न्यायिक समितिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले पालिकाहरुमा कानूनी ज्ञानको अभावमा उपप्रमुखहरु न्यायिक समितिहरु प्रभावकारी हुन नसकेकाले त्यसलाई प्रभावकारी बनाएर जनतालाई न्यायको प्रत्याभूति गराउने हरसम्भव प्रयास गर्ने बताइन् ।