जनकपुर, बैशाख १७

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएपछि निकै उत्साहीत भएका छन् ।
शनिबार जनकपुरधाममा मेयर तथा उपमेयर पदका अकांक्षी उम्मेदवारहरुले चुनावी चिन्ह मुख्यनिर्वाचन अधिकृतको कार्यालयबाट पाए हुन् ।
उम्मेदवारी गरेपनि सम्बन्धित दलले टिकट नदिएपछि असन्तुष्ट बनेका उम्मेदवारहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका थिए । त्यसपछि उनीहरुले प्रचारप्रसारमा अन्योल देखेपछि स्वतन्त्र उम्मेदवारहरुले चुनावी चिन्ह पाएपछि निकै हौसिउँदै प्रचार प्रसारका लागि सहज भएको बताउँछन् ।
नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मनोजकुमार साहले चुनाव चिन्ह घण्टाघर छाप पाएका छन् । उनले चुनावी चिन्ह पाएपछि चुनावी प्रचारप्रसारका लागि सहज भएको बताए ।
गठबन्धनको बैठकमा जनकपुरधाम जनता समाजवादी पार्टी नेपालको भागमा परेपछि कांग्रेसका नगर सभापति समेत रहेका साहले पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्माण व्यवसायी बलराम महतोले चुनावी चिन्ह आम (आँप) छाप पाएका छन् । उनले आफुले चुनाव चिन्ह आँप रोजेको र अब निर्वाचन प्रचार प्रसारमा तिव्ररुपमा लागिपर्ने बताए । उनले छाप सोचेजस्तो नभएपनि आफु अहिलेको मौसम पनि आँपकै रहेकाले सन्तुष्ट रहेको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट टिकट नपाउने भएपछि एमाले प्रवेश गरेका थिए । एमालेमा सर्तानुसार प्रवेश गरेको करिब एक साता नवित्दै एमालेले पनि मेयर पदको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहलाई चुनावी चिन्ह लालटेन छाप पाएका छन् ।
उनले पनि अब चुनाव चिन्ह पाइसकेकाले अब घरदैलो कार्यक्रमलाई तिव्रता दिने बताए ।
कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल चौधरीले चुनाव चिन्ह आम (आँप) छाप पाएका छन् । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले दिएको चुनाव चिन्ह आँप कांग्रेसका बागी उम्मेदवार चौधरीले पाएका हुन् । भने नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका उमेश चौधरीले चुनाव चिन्ह ब्याडमिन्टनको कर्क छाप पाएका छन् । उनले सो छाप पाएपछि जनताको घरदैलोमा जानका लागि बाटो खुलेको बताए ।