
जनकपुर, बैशाख १७
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्ष पदकी उम्मेदवार बिन्दु ठाकुरले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठानेर आफूले उम्मेदवारी दिएको बताएकी छन् ।
वडा नम्बर–४ लाई नमूना वडाको रूपमा विकास गर्ने उद्देश्यले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै वडाध्यक्ष पदको उम्मेदवार बन्ने निर्णय गरेको ठाकुरले बताएकी हुन् ।
उनले पार्टी अध्यक्ष तथा शीर्ष नेतृत्व तहले आफूलाई विश्वास गरेको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘तमलोपाले मलाई विश्वास गरेर वडाध्यक्ष पदका लागि जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक, साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण वडाबासीहरूको भावना र सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील नेतृहरू, म जस्ता दक्ष महिलाहरु, सामाजिक, साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो ।’
अहिले वडाध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरूकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईंहरूले ममाथि गरेको विश्वास र भरोसालाई कुठाराघाट नगर्ने उनले बताइन् । उनले मतदाताको शीर कहिल्यै पनि झुक्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।
उनले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै वडालाई भ्रष्टाचारमुक्त बनाउने र सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धतासमेत जनाइन् ।
उनले आफू निर्वाचित भइसकेपछि आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाईन् ।