काठमाण्डौ, बैशाख १८

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन नयाँ चरणमा प्रवेश गरेको नेपाली काँग्रेसले जनाएको छ ।

निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरी १७ गते शनिवार सबैलाई निर्वाचन चिन्ह दिइसकेको सन्दर्भमा निर्वाचन नयाँ चरणमा प्रवेश गरेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।

देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको उनको भनाइ थियो ।

गठबन्धनमा तालमेल मिलाउने क्रममा पार्टीका ६२३ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको महतले बताए ।

उनले प्रमुख पदमा ३, अध्यक्षमा १०, उपप्रमुखमा १७, वडाध्यक्षमा ८९, महिला सदस्यमा ९९, दलित महिला सदस्यमा ११२ र सदस्य पदमा २७४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।