जलेश्वर, बैशाख १८

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन आउन १२ दिन मात्र बाँकी रहेको छ । तर महोत्तरीमा निर्वाचन सम्बन्धी सचेतनाको नाममा एक गैर सरकारी संस्थाले आचारसंहीता विपरितका गतिविधि गरिरहेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ स्थित पर्सा पतैलीमा एक गैरसरकारी संस्थाका केही कर्मचारीहरु निर्वाचन सचेतनाको नाममा कुनै दल विशेषको पक्षमा मात्र मतदाताहरुसँग मत मागिरहेको पाइएको हो ।

आइतबार सो एनजिओले ८ जना कर्मचारीहरु जलेश्वर नगरपालिका वडा नम्बर-५ स्थित पर्सा पतैलीका मतदाताहरुको घर घर पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको निर्वाचन चिन्ह साइकल छापमा मतदान गर्न आह्वान गरिरहेका थिए ।

आफूहरुलाई निर्वाचन कार्यालयले खटाएको र सोही अनुरुप आफूहरु यहाँ आएको भन्दै उनीहरुले चारवटा पार्टीको चुनाव चिन्ह अंकित नमूना मतपत्र लगेर लोसपाको चुनाव चिन्ह साइकल छापमा मात्र मतदान गर्न अन्यथा मत बदर हुने भन्दै मतदाताहरुसँग आग्रह गरिरहेका थिए ।

सोही वडाका स्थानीय भरत कापरले भने, ‘उनीहरु त्यहाँ साइकल छापमा मात्रै मतदान गर्न मतदातासँग आग्रह गरिरहेका थिए । सबैको हातमा मात्र चारवटा पार्टीहरुको चुनाव चिन्ह अंकित नमूना मतपत्र थियो । त्यसमा लोसपाको साइकल छापमा मात्रै मतदान गर्न उनीहरुले सोझासाझा गाउँका मतदातालाई रिझाइरहेका थिए ।’

स्थानीय गीता देवीले सो एनजिओको पूर्व संस्थापक मधेस प्रदेशकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारी रहेको र उनले नै आफ्नो संस्थाबाट ति कर्मचारीहरुलाई लोसपाको पक्षमा मतदान गर्न खटाएको हुनसक्ने आरोप लगाइन् ।

तर प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले भने सो एनजिओबाट अलग भएको ५ वर्ष भइसकेको प्रतिक्रिया दिइन् । सो संस्थाको संस्थापक अध्यक्ष भने उनी नै हुन् ।