जनकपुर, बैशाख १९

निर्वाचन आयोगले आधिकारिक वेभसाइटमा धनुषाका लागि प्रकाशन गरेको नमूना मतपत्रमा चुनाव चिन्ह नदेखेपछि जनकपुरधाम उपमहानगरपालिकाका एक जना स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोकुमार साहले चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि धर्नामा बसेका हुन् ।

उनी जनकपुरधामको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका हुन् ।

No description available.

उनले २४ घण्टा भित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले धर्नामा बस्नु परेको बताए । उनले राजनीतिक षडयन्त्रपूर्वक आफ्नो चुनाव चिन्ह समावेश नगरिएको आरोप समेत लगाए ।

उनले भने, ‘यो सामान्य त्रुटी होइन, मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र पनि हुन सक्छ, ।’

चुनावी प्रचार प्रसार जारी रहेको समयमा नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नहुँदा मतदातालाई सम्झाउन गाह्रो भईरहेको उनको भनाई छ ।

उम्मेदवार साहले आयोगको यो त्रुटिपूर्ण नमूना मतपत्र अविलम्ब नसच्याएसम्म आफू धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।

No description available.

जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि जम्मा २७ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

यता जनकपुरधामको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्धित अधिकारीहरुलाई जानकारी गराई सकेको बताए । मतपत्र सच्याउने काम चाँडै हुने पनि उनले बताए ।

उनका अनुसार आयोगले १२ वटा चुनाव चिन्ह मात्रै पठाएको थियो, तर जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको संख्या बढेपछि यस्तो समस्याको श्रृजना भएको हो ।

१२ वटा चुनाव चिन्ह सम्म ठिकै थियो, प्याकुरेलले भने ‘पुतली देखी जेब्रासम्म जम्मा १२ वटा चिन्ह थियो, अहिले जनकपुरधामलाई प्राथमिकतामा राखेर सच्याउने काम भईरहेको छ ।’