जनकपुर, बैशाख १९
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा कायम गर्ने बताएका छन् ।
आइतबार जनकपुरधाम वडा नम्बर १२ स्थित कुवारामपुरमा घरदैलो क्रममा स्थानीयवासीसँग भलाकुसारी गर्दै जनकपुरधामको पहिचान जानकी मन्दिरलगायत मठमन्दिर रहेकाले यस जनकपुरधामको पहिचानलाई कायम राख्नका लागि धार्मिक पर्यटकीय नगरीको रुपमा अघि बढाउने समेत उनले बताए ।
उनले जनकपुरधाममा रहेका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने हिसाबले जनकपुरधामको विकास गर्नका लागि आफूले योजना बनाएर काम गर्ने प्रतिवद्धता व्इक्त गरे ।
घरदैलोको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवास्थित कुपेश्वरनाथ महादेवको दर्शन पश्चात मतदाताहरुसंग कुरा गर्दै हिराले आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि पहल गर्ने बताए । यसका साथै जनकपुरधामको पौराणिक एवं ऐतिहासिक मन्दिरहरु मध्ये एक कुपेश्वरनाथ मन्दिरलाई समेत व्यवस्थित गर्न तर्फ कुवाका मतदाता समक्ष वचनवद्धता व्यक्त गरे ।
यस अघि यहाँ शिक्षा स्वास्थ्यको नाममा लाखौँ करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै हिराले आफु निर्वाचित भएपछि जनकपुरधाम उपमहागरपालिकालाई भ्रष्टाचार मुक्त बनाएरै छोड्ने बताए । भ्रष्टाचार मुक्त अभियानको शुरुवात उपमहानगरको कार्यालयबाटै गरिने उनको भनाई थियो ।
उनले वडामा निःशुल्क एम्बुलेन्स क्लिनिक संचालन गर्ने भन्दै भने, ‘जुन क्लिनिकमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ ।’ उनले सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
त्यस्तै उपमेयरकी उम्मेदवार रुना झाले कुवारामपुरमा सुकुम्बासीको समस्या रहेकाले सोको सम्बोधनका लागि पहलकदमी लिँदै घरबारबिहीनलाई जग्गासहित घरको व्यवस्थित व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।