जनकपुर, बैशाख १९
जनकपुरधाम उपमहानगरलाई सक्षम नेतृत्वको आवश्यकता रहेको मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले दावी गरेका छन् ।
सोमबार उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको उनले बताए ।
उनले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे । कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो ।
उनले भने ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’ अगाडी भने ‘ तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ स्थित लोहना र वभनगामा पुगेका महतोलाई गाउँका स्थानीयहरुले स्वागत समेत गरेका थिए ।
उनले मतदाताहरु समक्ष उपमहानगरको सर्वांगिन विकासका लागि असल अभिभावकको छनोट गर्न आग्रह गरे ।