जनकपुर, बैशाख २०
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाल प्रहरीका दुई जना पूर्वअधिकारी चुनावी मैदानमा उत्रेका छन् ।
एक जना सेवानिवृत्त प्रहरी नायव उपरीक्षक (डीएसपी) र अर्का वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रेका हुन् ।
केही महिनाअघि डीएसपीबाट सेवानिवृत्त भएका महेन्द्र महतो मिथिला नगरपालिकाको मेयरमा र पूर्वएसएसपी गोविन्द साह विदेह नगरपालिकाको मेयरमा चुनावी मैदानमा छन् ।
सेवानिवृत्त डिएसपी महतोले नेपाली कांग्रेसबाट टिकट पाएका छन् भने पूर्व एसएसपी साहले पनि कांग्रेसबाटै टिकट पाउने आशमा केही महिनाअघि एसएसपीबाट राजीनामा दिएका थिए ।
तर अन्तिम समयमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर घरदैलोमा व्यस्त छन् ।
दुवै जनाले जित्ने दावी समेत गरेका छन् ।