वीरगञ्ज बैशाख २०
उम्मेदवारहरुले निर्वाचन आचारसंहीतालाई बेवास्ता गर्दै सार्वजनिक स्थलमा टाँगेका ब्यानरहरु हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।
पर्सामा स्थानीय तह निर्वाचनमा आफनो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको हो ।
पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा उम्मेदवारहरुले राखेका आफना प्रचार ब्यानरहरु नहटाइए सम्बन्धित दल र उम्मेदवारलाइ कार्वाही हुने बताएका छन् ।
आचारसंहिता अनुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न पाइने छैन । यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्न्ह, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ ।
तर पर्सामा वीरगञ्ज महानगर सहित १४ वटै पालिकाहरुमा दल र उम्मेदवारहरुले चोक, सार्वजनिक भवन, पार्क लगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ आफनो पोष्टर लगाएका छन् ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर चुनावी पोष्ट र ब्यानर टास्न निषेध गर्दै यदि कसैले पोष्टर र ब्यानर टासे १ लाख रुपैया जरीवाना तिराउने बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ देखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरेपनि राजनीतिक दलहरुले भने बेवास्ता गर्दै आचारसंहीताको उल्लंघन गर्ने क्रमलाई भने रोकेका छैनन् ।