
काभ्रे, बैशाख २१
काभ्रेमा बस र जीप ठोक्किँदा ज्यान गुमाएकै पाँचै जनाको परिचय खुलेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । यस्तै दुर्घटनामा रामेछापको खाँडादेवी गाउँपालिका ८ की सम्झना भुसाल र उहाँका छोरा ६ वर्षीय सङ्गीतको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु हुन् ।
काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको थियो ।
दुर्घटनामा घाइते भएका १८ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।