जनकपुर, बैशाख २१
जनकपुरधामको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले उपमहानगरपालिकालाई आफूले राजनीतिको अखाडा बन्न नदिने प्रतिववद्धता व्यक्त गरेका छन् ।
उपमहानगरपालिकालाई राजनीतिकको अखाडा बनाइएकोले विकास त भएन, त्यसमाथी भ्रष्टाचार मौलाउँदै गईरहेकाले राजनीतिको अखाडा बन्न नदिने महतोको भनाई छ ।
यद्यपि वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि कुनै वडाध्यक्षसंग भेदभाव नगर्ने महतोले बताए ।
वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न आफू सदैव तत्पर रह्ने बताए । महतोले जनकपुरधामको विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गरे ।
उपमहानगरको वडा नम्बर १ र वडा नम्बर ९मा घरदैलोका लागि पुगेका महतोले उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको बताए । उनले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो । उनले भने ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ ।
जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’ अगाडी भने ‘ तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’